काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।
नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह आज रिहा भएका हुन् ।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।