तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन



७ कात्तिक । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।

कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आउनुभएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।


नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए । एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गर्नुभएका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए ।