सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी



काठमाडौँ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी छ ।

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनुपर्ने भन्दै दिएको निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा भइरहेको हो ।


सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुबै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्न आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानूनी व्यवस्था छ । बन्द इजलासमा दुबै पक्षका वकिलको मात्रै उपस्थिति छ ।