काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोटका लागि गैरजिम्मेवाररुपमा व्यवसायीले जथाभावी बोल्न नहुने कुरा बताए ।
“हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न”, उनले भने । उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे ।
कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे । “अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ”, उनले भने, “बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित् नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निराश हुनु हुँदैन । नैराश्यताले हामी आफैँलाई नै समस्यामा पार्छ ।”