संघीयता कार्यान्वयन गर्न आमसञ्चारको भूमिका महत्वपूर्ण : मन्त्री मोदी



काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको सुशासन र सङ्घीयता कार्यान्वयनका लागि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताएका हुन् ।


‘लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ,’ उनले भने । उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए ।

‘आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ’, उनले भने । मन्त्री मोदीले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए ।

फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नर्भर समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए । उनले भने– ‘यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुने हो ।’