काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावी राष्ट्रपतिको विषयमा सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज (शुक्रबार) निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।
हिजो (बिहीबार) साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको जानकारी दिंदै सहमति भने जुटिनसकेको बताएका थिए ।
उनले छलफल चलिरहेको र कुन दलले राष्ट्रपति पाउने भन्ने टुङ्गो भइनसकेको बताएका थिए । उनले शुक्रबार ओलीसँग फाइनल वार्ता हुने बताउँदै नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको बताएका थिए ।
प्रचण्डले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने भएका छन् । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकाले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो ।