पुरानै पाँच दलीय गठबन्धन ब्यूँताउन छलफल सुरू, ओलीलाई एक्ल्याउने प्रयास



काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पुरानै गठबन्धन ब्यूँताउन छलफल थालेका छन् ।

बुधबार देउवा निवास धुम्बाराहीमा पार्टीका नेताहरुसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । यादवसँगको छलफलपछि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग छलफल गरेका थिए । मंसिर ४ को पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउनेसम्मको तयारी भइरहेको स्रोतको भनाइ छ।


बैठकमा एमाले अध्यक्ष ओलीको प्रतिगमनका कुरा कोट्याउँदै कांग्रेस नेताहरूले पाँच दलीय गठबन्धनलाई फेरि व्युँताउनुपर्ने धारणा राखेका थिए। ‘राष्ट्रपतिको निर्वाचनसँगै पुरानो गठबन्धनलाई कसरी व्युँताएर नयाँ रणनीतिका साथ अगाडि लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको हो। यस विषयमा सबै नेताहरूले आ(आफ्नो राय राख्नुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

एकीकृत समाजवादीका नेताहरुसँगको छलफलपछि देउवा प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार गएका थिए । भेटमा पुरानै गठबन्धन ब्यूँताउनेबारेमा नेताहरुबीच छलफल भएको छ ।

छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुरानै गठबन्धन ब्यूँताउने सम्भावना बढेको तर अहिले नै परिणाम आइनसकेको जानकारी दिए । सभापति देउवाले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेको र प्रधानमन्त्रीले राष्ट्रपतिबारे आफ्नै दल र संसदमा रहेका अन्य दलसँग छलफल गरेर निर्णय दिने जवाफ दिएका थिए ।

छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा  सहभागी थिए ।

त्यसअघि बुधबार देउवासँग एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूको छलफल भएको थियो ।