राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति चोरीमा संलग्न



काठमाडौँ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँहरुमा चोरी तथा डकैती गर्ने गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथरको हिलिहाङ गाउँपालिका–४ घर भइ काठमाडौं गोकर्णेश्वरमा सुनचाँदी व्यवसाय गर्ने ४३ वर्षीय राजकुमार योङया लिम्बू, धनकुटा घर भइ काठमाडौं छहारीक्बल बस्ने ३८ वर्षीय जीवन मगर, मकवानपुरगढी घर भएका ४२ वर्षीय रेशम रुम्बा, धादिङको निलकण्ठ–१४ घर भएका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोकको हेलम्बुका ५२ वर्षीय पेम्बा लामा र मुस्ताङको लोमाथाङका ४२ वर्षीय डिमा वाङदी गुरुङ छन्।


पेम्बा र डिमा चोरीको सामान किन्ने व्यक्तिहरु हुन्। उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फागुन ८ गते पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये सागर तामाङ र रेशम रुम्बा राष्ट्रपतिबाट राम्रो चालचलन भएको भन्दै आममाफी पाएर जेलबाट छुटेका व्यक्तिसमेत रहेको पाइएको छ ।

यी दुई जना २०६९ जेठ २ गते कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद बसेर राष्ट्रपतिबाट कैद माफी पाउँदै २०७७ फागुन ७ गते छुटेको पाइएको छ। पक्राउ परेका अर्का व्यक्ति राजकुमारविरुद्ध गत असोज ३० गते मात्रै सवारी अंगभंगमा मुद्दा दर्ता भइ तारेखमा रहेको पाइएको छ ।

उनीहरुले काठमाडौं बौद्ध फूलबारी बस्ने ४९ वर्षीय सङ्गे लामा र ललितपुरको पाटन घर भइ काठमाडौं बौद्धमा सुन पसल सञ्चालन गर्दै आएका २५ वर्षीय सुजन शाक्यको पसलबाट विभिन्न सामानहरु चोरी गरेका थिए ।

गत पुस ७ गते सङ्गे लामाको घरको पूजा कोठाको झ्यालको ग्रिल फुटाएर उनीहरुले मुगा, सि–माला, सुनका गरगहना, तिब्बतीयन पूजाका सामानहरु गरी ४२ लाख बराबरको धनमाल चोरी गरेको पाइएको काठमाडौं प्रहरी परिसले जनाएको छ ।

फागुन १ गते भने शाक्यको सुन पसलबाट सुनचाँदीका गरगहना गरी ३५ लाख ५० हजार ९५० रुपैयाँ बराबरको चोरी गरेका थिए। यी व्यक्तिको घर तथा पसलबाट गरी यो समूहले करिब ८० लाख बराबरको धनमाल चोरी गरेको पाइएको छ । यो समूहले दिनको समयमा आफ्नै ट्याक्सी लिई चोरी गर्ने घरको लोकेसन लगायतको सूचना लिने गरेको पाइएको छ।

चोरी गर्ने एरियाको बाटोमा भएका सीसी क्यामेरा फुटाउने वा बङ्याई आवतजावत गरेको नदेखिने बनाउनेसमेत गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तै चोरीका लागि आफ्नै ट्याक्सीको प्रयोग गर्ने गरेको पाइएको छ। त्यसमा पनि केही नम्बर प्लेट छोप्ने गरेको प्रहरीले जनाएको छ ।

चोरी गरी सकेपछि हुलिया परिवर्तनका लागि कपडा परिवर्तन गर्ने, नगद, सुन, चाँदी वा बहुमूल्य धातुहरु मात्र चोर्ने गरेको पाइएको छ । पक्राउ परेकाहरुबाट २ लाख ४० हजार नगद र सुनका विभिन्न गरगहना बरामद भएका छन्।