सङ्गठनको अभिलेख सङ्कलन गर्न जसपाद्वारा पत्राचार



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सङ्गठनको अभिलेख सङ्कलन गर्न मातहत समितिलाई आज पत्र पठाएको छ ।

गत सोमबार सम्पन्न कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार पार्टीका सङ्गठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र सङ्गठनलाई अभिलेखको माग गर्दै आज पत्र पठाएका हुन् ।


सङ्गठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ, “पार्टीमा आबद्ध सम्पूर्ण पार्टी सदस्यको अभिलेख पार्टीको अन्तरिम विधानको अनुसूची ६ को ढाँचामा रहेको मातहत प्रमाणित अभिलेख विसं २०७९ फागुन मसान्तभित्र केन्द्रीय सङ्गठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिलाई अनुरोध गर्दछु ।”

अभिलेखका आधारमा पार्टीले आगामी चैत मसान्तमा हुने विधान अधिवेशनका लागि प्रतिनिधिको सङ्ख्या र मापदण्ड तय गर्ने जनाएको छ ।