माधव नेपालसँगको छलफल लगतै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा



काठमाडौँ । राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूको दौडधुप र भेटवार्ता बाक्लिएको छ ।

अहिले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसले दिने उम्मेदवारीमा सघाउन औपचारिक आग्रह गरेपछि देउवाले प्रधानमन्त्रीलाई दोस्रो पटक भेट्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न देउवा बुधबार बेलुका बालुवाटार पुग्नुअघि उपसभापति पूर्णबहादुर खड्का पुगेका थिए।


उनी एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको टोलीसँगको छलफलबाट बीचमै उठेर धुम्बाराहीबाट बाहिरिएका थिए । बालुवाटार जानुअघि देउवा निवास धुम्बाराहीमा कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल भएको थियो । बुधबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका थिए । श्रेष्ठ अहिले बालुवाटारमै रहेको बालुवाटार स्रोतले जनाएको छ ।