बागमती प्रदेशसभाको बैठक : दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल



बागमती । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरे ।

मुख्यमन्त्री जम्कट्टेलले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा प्रस्तुत गरेका थिए ।


उक्त बैठकमा ती दुवै विधेयकको सैद्धान्तिक छलफल प्रदेशसभाका सदस्यहरूले उठाएका विभिन्न सरोकारसँग सम्बन्धित विषयसँगै सङ्घीय सरकार र प्रदेश सरकारले गम्भीरतापूर्वक सोच, चिन्तन गरेर व्यावहारिक पक्षलाई दृष्टिकोण गरी पारित गर्नुपर्ने सुझाव दिए ।

उनीहरूले छलफलमा प्रदेश सरकारले स्थानीय निकायलाई जनताको सरोकारसँग र सेवाभावले काम गर्ने वातावरण तयार गर्न र निजामती कर्मचारीलाई काम, कर्तव्य र अधिकारप्रति प्रतिबद्ध हुने र जनताप्रति सेवाभावले सधैँ काम गर्ने माहोल तयार गर्न प्रदेश सरकारले गम्भीररूपमा ग्रहण गरेर प्रदेशसभामा दफाबार छलफल गराई सदस्यको सझावअनुरुप दुवै ऐनलाई पारित गर्नेतर्फ अग्रसर हुनुपर्ने धारणा राखे ।

कर्मचारीले पनि काम, कर्तव्य र अधिकारप्रति जवाफदेही हुँदै प्रदेश सरकार र जनताप्रति उत्तरदायित्व बोध गर्ने गरी जनताप्रति सेवाभाव र उनीहरूको समस्यालाई बुझेर दलगत स्वार्थभन्दा माथि उठेर कामकाज गर्न निर्देशित हुनुपर्ने सदस्यहरूले सुझाव दिए ।

उनीहरूले यी दुवै विधेयकलाई कानूनविद्सँग विचारविमर्श गरेर प्रदेशसभामा दफाबार छलफल गराएर मात्रै पारित गराउँदा सरकारलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

सो बैठकमा मुख्यमन्त्री जम्कट्टेलले छलफलमा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै सरकारले दलगत स्वार्थभन्दा माथि उठेर ती दुवै विधेयकलाई प्रदेशसभाको पूर्ण बैठकमा दफाबार छलफल गराई प्राप्त सुझावअनुरुप ऐनमा समावेश गरी पारित गर्नेतर्फ सरकार लागि पर्ने बताए ।

उनले स्थानीय निकायलाई अझ प्रभावकारी र गतिशील तुल्याउन निजामती कर्मचारीको भूमिकालाई सशक्त ढङ्गबाट परिचालन गर्न र काम, कर्तव्य अधिकारप्रति सचेत गराउने उद्देश्यले र सरकारले उनीहरूको सेवा सुविधालाई उच्च प्राथमिकतामा राखेर जनमुखी सेवालाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले ती दुवै ऐनलाई संशोधन गरी पारित गर्नेतर्फ सरकारको पहल हुने बताए ।

विधेयकमाथि छलफलमा सहभागी हुनुहुने सदस्यमा सुरेन्द्रराज गोरसाईँ, हरिप्रभा खड्गी श्रेष्ठ, मधुसुधन पौडेल, कृष्णप्रसाद सिलवाल, जयराम थापा, रमेशकुमार महत, श्रीराम लामिछाने, मातृकाप्रसाद भट्टराई, कुमारी तामाङ, ओमकुमारी श्रेष्ठ, रामकृष्ण चित्रकार, सृजना सैजु, डा राजेन्द्रमान श्रेष्ठ, वसन्त मानन्धर र उत्तम जोशी थिए ।

फागुन १३ गते अपराह्न बस्ने बैठकमा ती दुवै विधेयकमाथि दफाबार छलफल हुने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक फागुन १३ गते अपराह्न ४ बजे बस्नेछ ।