काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कतैबाट राष्ट्रपतिको प्रस्ताव नआएको प्रष्ट पारेको छ । बुधबार बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् ।
‘हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ’ उनले भने, ‘भोलिका दिनमा आए त्यसबारे अन्य दलसँग छलफल गर्ने नीति लिएका छौं ।’ राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा आफूहरु उभिने पनि उनले बताए ।
उनले उम्मेदवार राजनीतिक दलबाटै हुने बताउँदै भने, ‘हामी पनि एउटा पक्ष हौं । कोहीसँग बहुमत छैन । अरु कोही उम्मेदवार भए हाम्रो भोटले जित्दैछ । हाम्रो भयो भने पनि अरुको भोटले जित्ने हो ।’ उनले कांग्रेस र माओवादीसहितका दलसँग छलफल गरेमात्र राष्ट्रपतिबारे टुंगो लाग्ने बताए । उनले भने, ‘छलफल चल्दै आएको भएपनि अहिले कोही निष्कर्ष आएको छैन ।’