काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।
आज (बुधबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएको लगायतका विषयमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।
उनले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल-अचल सम्पत्ति दुरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न जाँचबुझ आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गर्दै त्यो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुने बताइन् ।
सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्ति समेत अतिक्रमण गरिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । सांसद श्रेष्ठले नेपाल ललित कला प्रतिष्ठानको २९ रोपनी जग्गा समेत दुरुपयोग गर्ने काम भइरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराएकी छन् ।