आईसीसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डमाथि नेपालको शानदार जित



काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए ।

यस्तै करण केसीले नटआउट ३१ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो ।


नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।