काठमाडौँ । लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौँमा आयोजना गरेको ‘सङ्कटमा लघुवित्त: कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे । सिराहाकी पुनमकुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताए । लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाइ छ ।
“सानो व्यवसाय शुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो । नियमित किस्ता तिर्न सकिनँ । लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ”, उनले भने । लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उनको भनाइ छ ।
त्यस्तै, सिराहा देवीपुरका श्यामकुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताए । “मैले रू एक लाख ऋण लिँदा रू ८५ हजार मात्रै पाएँ । शुरुमै रू १५ हजार सेवाशुल्क भनेर काट्यो । हरेक महिना रू १० हजारका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन । थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्यो”, उनले भने ।
रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताए । “मिटरब्याजीले खाली चेक मागेर साढे चार लाख ऋण दियो । तर उसले खाली चेकमा रू ११ लाख भरेर असुल्न खोज्यो । मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ । पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले”, कार्कीले भने। अहिले आफू छ–सातवटा लघुवित्त कम्पनीको ऋणी रहेको उनको भनाइ छ । लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताए ।
सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आपूm समस्यामा परेको बताए । “अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ । जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो ?”, प्रश्न गर्दै उनले भने ।
लघुवित्त कम्पनीले विभिन्न आश्वासन दिएर जबरजस्ती ऋण दिने गरेको र असुली गर्दा अनेक दुःख दिने गरेको काभ्रेपलाञ्चोकको पनौतीकी प्रिया खत्रीको भनाइ छ । “म ऋण लिन गएको होइन । उनीहरू आफँै आउँछन् । अनेक लोभ देखाएर जबरजस्ती ऋण भिराए । मलाई एक लाख ऋण दिने भनेकोमा ८५ हजार मात्रै हात प¥यो”, उनले भनिन्।
के भन्छन् नियामक र सरोकालवाला ?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताए । “लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या हो । यो एकैचोटि अहिले मात्रै देखिएको होइन”, उनले भने।
लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताए ।
“अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ । लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन”, उनले भने । राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको पनि उनले बताए ।
लघुवित्त संस्था स्वशासनमा बस्नुपर्ने नेपालको भनाइ छ । “लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभ केन्द्रित भए । केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ । अहिले बजारमा देखिएको तरलता सङ्कटका कारण पनि लघुवित्तमा समस्या भएको हो”, उनले भने।
लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौँ संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ । एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ । लघुवित्त कम्पनीहरूले कर्जा प्रवाह सजिलै गर्ने तर असुलीमा कडाइ गर्ने गर्दा ऋणीलाई त्यसले समस्यामा पारेको पनि नेपालले बताए ।
लघुवित्त संस्थाहरू आफ्नो सिद्धान्त र अवधारणाभन्दा बाहिर काम गर्न थालेपछि समस्या देखिएको त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा बताए । लघुवित्त संस्था सामाजिक पूँजी निर्माणमा कमजोर हुँदै गएको र नाफामा मात्रै बढी केन्द्रित हुन थालेको उनको भनाइ छ ।