खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्‍यवहार



जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुर शाखाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएका छन् ।

खानेपानी जडानका लागि ढल खनेर काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले रामानन्द चोकस्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गर्दै अर्धनग्न बनाई जुलुस सहित निमित प्रमुख कुशवाहालाई नगरका विभिन्न भागको परिक्रमा गराएका हुन् ।


जनकपुरधाम उपमहानगरपालिका ८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौदेखि बाटो खनेका कारण आवागमनमा समस्या भएको भन्दै पार्टीका कार्यकर्ताले खानेपानीका प्रमुखलाई नगर परिक्रमा गराइएको उनीहरुले बताएका छन् ।

यसैबीच, कुशवाहालाई कुटपिट गरी अर्धनग्न बनाई नगरपरिक्रमा गराएको आरोपमा धनुषा प्रहरीले जनमत पार्टीका १० जना कार्यकर्तालाई पक्राउ गरेको छ । बाटो ग्राभेलको मांग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड समेत गरेका थिए ।