प्रजातन्त्रलाई जीवन पद्धति बनाउनु पर्छ : प्रदेश प्रमुख गुरुङ



गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने उल्लेख गरे ।

जारी सन्देशमा निरंकुश राणाशासन अन्त्य भई मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइने र त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर सङ्घर्षकै प्रतिफलस्वरुप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख छ ।


प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन गुमाउनुहुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश प्रमुख गुरुङले आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वप्रति सम्मान व्यक्त गरेका छन् ।

सङ्घर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको प्रदेश प्रमुखले भनेका छन् ।

‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता होे’, सन्देशमा उल्लेख छ ।