थप १२ अफ्रिकी चितुवा भारत ल्याइयो



नयाँदिल्ली । दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा ल्याइएको छ । शनिबार ती चितुवालाई ल्याइएको हो ।

भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर सहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।


यसअघि, पाँच महिना पहिले नामिबियाबाट ल्याइएका आठवटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो । योसँगै भारतमा अफ्रिकी चितुवाको कूल संख्या २० पुगेको छ ।

सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकांक्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुआत भएको हो ।