प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन



३ कात्तिक । आजदेखि सुरु हुने भनिएको प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण अर्को सूचना जारी नभएसम्म स्थागन गरिएको छ ।

युवा शक्ति क्लब विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको प्रतियोगिता तत्कालका लागि स्थगन गरिएको क्लवका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए । उनले भने, “आयोजक समितिको बैठकले हिजोदेखि लगातार वर्षा भइरहेको अवस्थामा खेलमैदानमा चारैतिरबाट पानी जमेकाले प्रतियोगिता स्थगन गर्नुपरेको हो ।”


यसअघि दुई दिन अगाडि राजविराजस्थित नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने गरी खेल हुने जनाइएको थियो ।

करिब रु १५ लाख बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारका रूपमा नगद रु एक लाख, शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने द्वितीय पुस्कारको रूपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।