काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
शुक्रबार दिउँसो प्रचण्ड बालकोट पुगेका हुन् । दुई नेताहरूबीच अहिले कुराकानी भइरहेको छ । यसअघि बिहीबार प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टाभन्दा बढी एक्लाएक्लै वार्ता भएको थियो ।
भावी राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका हुन् ।एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो ।
स्रोतका अनुसार माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ ।