वर्षाका कारण आठ सडक अवरुद्ध



३ कात्तिक । केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो । पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्काेट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ ।

डुम्रे–बेँसीसहर–चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ । सो सडक अहिले निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध रहेको छ । बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–वुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक पनि मङ्गलबारदेखि नै अवरुद्ध छ ।


कालिकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न चेनेजमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ । यो महिनाको सुरुदेखि भइरहेको वर्षाका कारण जम्मा १२ सडक अवरुद्ध भएकामा अहिले चार सडक खुलाइसकिएको विभागले जनाएको छ ।

कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकामा एकातर्फबाट खुलाइएको छ । राप्ती राजमार्गअन्र्तगत सल्यानमा अरिङ्गलेफेदीमा अवरुद्ध भएकामा एकातर्फबाट चालु भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो ।

विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि मङगलबार सडक अवरुद्ध भएको थियो । सडक थप खुलाउने काम भइरहेको छ । वर्षाकै कारण अवरुद्ध भएको भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा अवरुद्ध भएकामा अहिले चालु भइसकेको छ ।

यो वर्ष जेठबाट नै वर्षा सुरु भएर राष्ट्रिय राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भइरहेका छन् । वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चाचलनमा छन् । आजसम्ममा १३४ आशिंकरूपमा र ९६ दुवैतर्फ चालु रहेको विभागले जनाएको छ ।