चिनियाँ विदेशमन्त्री छिङ गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिएका छन् ।
सङ्गठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा मञ्च क्रियाशील हुने विश्वास व्यक्त गरेका छन् ।
मध्यस्थताको माध्यमबाट अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्न समर्पित विश्वको पहिलो अन्तरसरकारी संस्था आइओएमइडी संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने सिद्धान्तको अभ्यास महत्वपूर्ण निकाय भएको चिनियाँ विदेशमन्त्रीले बताए । आइओएमइडी विश्वसनीय एवम् व्यावसायिक संस्था हुनुपर्नेमा पनि उनले जोड दिए ।
पारस्परिक सम्मानको सिद्धान्तलाई आत्मसात गर्दै सन्तुलित विकास, व्यापक परामर्श र संयुक्त योगदानको आधारशिलामा उभिएर खुलापन एवम् समावेशीताको भावनालाई कायम राख्न आइओएमइडी सक्रिय हुनुपर्ने सुझाव विदेशमन्त्री छिनले दिए । विकासोन्मुख देशहरूको सहभागिता बढाउन तथा ती देशका मध्यस्थकर्तालाई तालिम दिन, अन्तर्राष्ट्रिय विवाद समाधान संयन्त्रलाई न्यायपूर्ण र सबैका लागि लाभदायक बनाउने काम गर्न उनले आग्रह गरे ।
समारोहमा इन्डोनेसिया, पाकिस्तान, लाओस, कम्बोडिया, सर्बिया, बेलारुस, सुडान, अल्जेरिया र जिबुटीलगायत आइओएमइडीको स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका देशका प्रतिनिधि सहभागी थिए ।