हामीले चाहे यो सरकार एक सातामा ढल्छ, अर्ली इलेक्सन ठिकै छ : अध्यक्ष ओली



३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले साँठगाँठ गर्ने हो भने सरकार ढालिदिन सक्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे ।


‘हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीको भनाई । उनले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर  यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ । हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी ।’