दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको यान्त्रिक परीक्षण



लहान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले चालक तथा परिचालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक जाँचसहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

आज भएको एक दिवसीय कार्यक्रममा प्रादेशिक अस्पताल लहान र सगरमाथा चौधरी आँखा अस्पतालका प्रविधिकको सहयोगमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच अभियान सञ्चालन गरेको हो । सिरहा जिल्लामा पछिल्लो समय सवारीसाधनको दुर्घटनाबाट मानिसको ज्यान जाने क्रम बढ्दै गएको देखिएको छ । दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ ।


लहानमा गत माघ २८, २९ र फागुन १ गते भएको तीन दुर्घटनामा मात्र पाँच जनाको मृत्यु भएको थियो । यसरी दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनाको रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्य राखी जनचेतनामूलक कार्यक्रम राखिएको प्रहरी निरीक्षक एवं सिरहा जिल्ला ट्राफिक प्रहरी प्रमुख टुपेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताउछन् ।

उनले भने, “सवारी दुर्घटना नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीको भूमिकामात्रै पर्याप्त हुँदैन । यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक, सवारी परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न ‘स्टेक होल्डर’हरूको हातेमालो आवश्यक छ ।”

ट्राफिक प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रम समय–समयमा सञ्चालन गर्दा सवारीको दुर्घटना न्यूनीकरणका लागि अत्यन्त प्रभावकारी हुने बताउछन् लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी । “जनचेतनाको कारणले पनि हाम्रा युवाहरूको संरक्षण र नियम, कानूनभित्र बसेर सवारी चलाउन उत्प्रेरणा वृद्धि हुनेछ”, उनले भने ।

सवारीसाधन ठीक अवस्थामा छ कि छैन, मानव स्वास्थ्य पनि कस्तो अवस्थामा छ भन्ने कुरा जान्नुपर्ने बताउछन् नेपाल यातायात व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हरिनारायण यादव । त्यस्तै लहान–१ का सिटी सफारी चालक रामकुमार साह ट्राफिक प्रहरीले यस प्रकारको जाँच गरिदिँदा आफूहरूलाई अत्यन्त खुसी लागेको र यसले चालकमा जनचेतना पनि अभिवृद्धि भएको बताउछन् ।