काठमाडौँ । माघ एक गते ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन गरिएको आयोगले विमानको ब्ल्याकबक्सबाट प्राप्त डाटा विश्लेषण गरी प्रारम्भिक प्रतिवेदन बनाएको हो । प्रतिवेदनमा अन्तिम समयमा इन्स्ट्रक्टर पाइलट कमल केसीले विमानको कमान्ड सम्हालेको उल्लेख गरिएको छ ।
काठमाडौंबाट पोखरा उड्दा विमानको कमान्ड पाइलट अञ्जु खतिवडाले लिएको तर ल्यान्डिङको अनुमति लिइसकेपछि अन्तिममा कमल केसीले कमान्ड लिएको प्रतिवेदनमा उल्लेख छ ।
पाइलटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुमति मागेपछि एटीसीले रनवे ३० मा अवतरण गर्न अनुमति दिएको तर पाइलटले केही समयपछि रनवे १२ मा अवतरणका लागि अनुमति मागेको र एटीसीले त्यसको पनि अनुमति दिएको उल्लेख छ ।
विमान अवतरणका लागि ल्यान्डिङ गेयरसमेत खोलिसकेपछि पाइलट कमल केसीले कमान्ड सम्हालेको उल्लेख छ । प्रतिवेदनमा इन्जिनका दुवै प्रोपेलर फेदर भएको बताइएको छ । तर किन त्यस्तो भयो भन्ने विषय भने अध्ययनमा रहेको उल्लेख गरिएको छ ।
दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डेटा विश्लेषण गरेको थियो । आयोगका संयोजक घिमिरे, हवाई विज्ञ र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर गएका थिए ।
फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डेटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।
आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याएको हो ।