काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । बन्दका कारण सडकमा सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारण मारमा परेका हुन् । माइक्रोबस र निजी सवारीसधान चलेपनि सार्वजनिक यातायातका अन्य साधन चलेका छैनन् ।
सवारी नियम उल्लंघनबापतको जरिवाना रकम घटाउनुपर्ने र ५ पटकसम्म ट्राफिक कारबाहीमा परे चालक अनुमतिपत्र नै खारेज हुने प्रावधान हटाउन माग गर्दै यातायात क्षेत्रका मजदुरले गरेको आन्दोलन अनियन्त्रित बन्दा नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको थियो ।
जरिवाना रकम र चालक अनुमतिपत्रका प्रावधान सच्याउन माग गर्दै बसपार्क परिसरमा यातायात मजदुरहरूले विरोध कार्यक्रम घोषणा गरेका थिए । तर, त्यसविरुद्ध बसपार्क परिसरको व्यवस्थापक ल्होत्से बहुउद्देश्य प्रालिले मजदुरको विरोध भाँड्न खोजेपछि भड्किएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो ।
त्यसपछि मजदुरहरू बसपार्क क्षेत्रमा सवारी तेर्साएर तोडफोड र आगजनीमा उत्रिएका थिए । त्यसविरुद्ध ल्होत्से समर्थित अर्को समूह प्रतिकारमा उत्रिँदा प्रदर्शन अनियन्त्रित बनेको थियो । त्यस क्रममा प्रहरीको बिट र प्रहरी भ्यान प्रदर्शनकारीले जलाएका थिए । यसै विषयमा सरकारले वार्ता गर्न मजदूर संगठनलाई बोलाएको छ ।