नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्‍न : आर्थिक र विकास साझेदारी सुदृढ गर्ने सहमति



काठमाडौँ । नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय बैठक सकिएको छ ।

आज (सोमबार) काठमाडौंको होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्वीटरमा जानकारी दिएको छ ।


परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राले क्रमशः नेपाल र भारतका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो ।

दुई दिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान काठमाडौँ आएका हुन् । उनी भारतीय वायुसेवाको जहाजमा आएका थिए ।

क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन् । बैठकमा परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीसहितका अधिकारी सहभागी थिए ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेलसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री राईसँग आजै द्विपक्षीय भेटघाट गर्नेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्वावत्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने भोलि भेटघाट गर्नेछन् । भोलि नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।