भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा



काठमाडौँ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनी सोमबार बिहान भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । विदेश सचिव क्वात्रालाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा नेपाल आएका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


सचिव क्वात्रा भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । संयन्त्रमा छलफलपछि पराराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लञ्च’ कार्यक्रममा सहभागी हुनेछन् । पराराष्ट्र सचिवले दिएको लन्चपछि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नेछन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।