माओवादी आन्दोलनका सबै समूहलाई एकतावद्ध हुन प्रचण्डको अपील



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पती भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक विदा दिएको बताए ।


उनले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोसिहिरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए ।

उनले फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपील गरे ।