आर्मेनिया र टर्कीबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीएलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् ।
औषधि, खाद्य पदार्थ र पानी बोकेका पाँच वटा ट्रक एलिकन सीमाबा टर्कीए आइ पुगेका आर्मेनियासँग वार्ता गरेका टर्कीएका विशेष दूत सेरदार किलिकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले आर्मेनियाली राष्ट्रियसभाका उपाध्यक्ष रुबेन रुबिन्यानप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
गत सोमबारको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पले टर्कीए र सिरियामा हालसम्म करिब २५ हजार मानिसले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । प्राकृतिक विपत्तिलाई दृष्टिगत गरी उक्त बाटो खोलिएको बताइएको छ ।
यसअघि उक्त बाटो सन् १९८८ मा आर्मेनियाली भूकम्प पीडितलाई सघाउन खोलिएको थियो । त्यस बेला झण्डै ३० हजार आर्मेनियालीको ज्यान गएको थियो ।
टर्कीए र आर्मेनियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । यद्यपि सन् २०२१ को डिसेम्बरमा दुवै देशले पारस्परिक सम्बन्धलाई सामान्य बनाउन विशेष दूत नियुक्त गरेका छन् ।
दुवै देशका साझा सिमाना सन् नब्बेको दशकदेखि बन्द छन् । गत वर्षदेखि दुवै मुलुकले व्यावसायिक उडान भने सञ्चालन गरेका छन् ।