भ्रष्टाचारले अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा नियन्त्रण अपरिहार्य : राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको साङ्गठनिक एवं एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन् ।


उनले भनिन्, “भ्रष्टाचार राज्यविरुद्धको अपराध हो । यसले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पुर्याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी छ ।”

सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् ।