काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बिहीबार) को प्रदेशसभा वैठकमा विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन् । एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशसभामा रहेको ठूलो दलको हैसियतमा कांग्रेसको सत्तामा फर्किने भएको छ ।
पुस २७ गते एमालेसहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम सरकार २९ दिनमै ढलेको हो । अब सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् ।
सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।
नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको हाे । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा रहे ।
विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवाद का ४ र १ स्वतन्त्र सदस्य छन् । रावल पदमुक्त भएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउन बाटो खुलेको छ ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ ।
संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।
रावलले विश्वासको मत पाउन नसकेकाे अवस्थामा उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता कमल शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।
सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठुलो दल छ । कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ अनिवार्य छ ।