काठमाडौँ । पाकिस्तानका पूर्वराष्टपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानका मिडियाले उल्लेख गरेअनुसार उनको आइतबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो ।
पूर्वराष्ट्रपति मुशर्रफको दुबईको एक अस्पतालमा निधन भएको उनको परिवारले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । पाकिस्तानी समाचार संस्था जियो न्युजका अनुसार अमाइलोइडोसिस रोगबाट पीडित मुशर्रफ लामो समयदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए ।
मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा भारतको दिल्लीमा भएको थियो । उनले १९ अप्रिल १९६१ मा पाकिस्तान मिलिटरी एकेडेमीबाट कमिशन पाएका थिए । सन् १९९८ मा जनरल पदमा बढुवा भएर सेना प्रमुख (सीओएएस) बनेका थिए । त्यसको एक वर्षपछि अक्टोबर १२, १९९९ मा जनरल (रिटायर्ड) मुशर्रफले सत्ता कब्जामा लिएका थिए ।