कमिलामा गन्ध थाहा पाउने शक्ति निकै बलियो हुन्छ। त्यो शक्ति कुनै दिन मान्छेलाई लाग्ने क्यान्सर रोग पत्ता लगाउन उपयोगी हुनसक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । भर्खरै वैज्ञानिकहरूले कमिलाले मुसामा क्यान्सर पत्ता लगाउन सक्छन् भन्ने कुरा पत्ता लगाएका छन् ।
‘कमिलालाई १० मिनेटमा नै मुसाको पिसाबमा क्यान्सरको गन्ध थाहा पाउन तालिम दिन सकिन्छ,’ उक्त शोधका मुख्य लेखक बाटिस्ट पिकरेले भने ।
उनले सन् २०१७ बाट त्यसबारे अध्ययन थालेका थिए र उनले कमिलालाई स्वस्थ जीवकोष र प्रयोगशालामा हुर्काइएका क्यान्सरकोषबीच रहेको भिन्नता छुट्याउन तालिम दिएका थिए ।
तर उनको समूह अहिले एउटा उपलब्धि हात पारेको छः कमिलाहरूले मुसामा मानिसलाई लाग्ने ट्यूमर पत्ता लगाएका छन्।
कमिलालाई घातक गन्ध पत्ता लगाउने तालिम
उक्त अनुसन्धानमा ’जेनोग्राफ्टिङ’ विधि प्रयोग गरेर मान्छेमा हुने स्तन क्यान्सरका कोषहरू मुसामा प्रत्यारोपण गरेर र तिनलाई हुर्किन दिएका थिए । उनीहरूले स्वस्थ र क्यान्सर सरेका दुवै खालका मुसाबाट नमुना सङ्कलन गरेका थिए । ‘तालिमको समयमा हामीले कमिलालाई एउटा गोलाकार क्षेत्रमा राखिदियौँ र तिनलाई लोभ्याउनका लागि क्यान्सर लागेको मुसाको पिसाबको छेउमा चारा राखिदियौँ।’ चारा फेला पारेपछि कमिलाहरूले क्यान्सर कोषबाट उत्पन्न गन्ध र चाराको सम्बन्ध बुझ्छन् अनि त्यस्तो गन्धलाई चिन्न थाल्छन्।
‘कोषहरू कारखानाजस्तै हुन्। तिनलाई बाँच्न पोषक तत्व चाहिन्छ र तिनले अवशेष फाल्छन्। क्यान्सरयुक्त कोषहरूले निकाल्ने अवशेषको गन्ध पत्ता लगाउन सकिन्छ,’ पिकरेले भने ।
यो अध्ययनले क्यान्सर गराउने कोषमा हुने विशिष्ट खालका अस्थिर प्राङ्गारिक यौगिकहरू हुने र तिनलाई कसरी पिसाब वा सासमा पहिचान गर्न सकिन्छ भनेर व्याख्या गरेको छ ।
वैज्ञानिकहरूका अनुसार तालिमको क्रममा खानेकुरा हटाइदिएपछि पनि कमिलाहरू क्यान्सरकोष भएका पिसाबका नमुनामा लामो समयसम्म बसेको पाइएको थियो ।
‘हामीले मान्छेको पिसाबमा पनि यो परीक्षण गर्न थालेका छौँ,’ उनले भने। तर त्यस्तो परीक्षण मुसाको पिसाबमा गरिएको परीक्षणभन्दा जटिल हुने उनको भनाइ छ।
कमिलालाई मान्छेमा क्यान्सरका कारण उत्पन्न हुने गन्ध पहिचान गराउने कुरा व्यक्तिको उमेर, लिङ्ग, खानेकुरा र त्यसबाहेक प्रत्येक व्यक्तिको विशेष खालको गन्ध रहने जस्ता विषयमा निर्भर रहन्छ।
‘मान्छेमा एकै खालको गन्ध हुँदैन र यो व्यक्तिअनुसार फरकफरक हुन्छ। हामीलाई कमिलाहरू क्यान्सर लागेका (मानव) कोषमा मात्रै केन्द्रित हुन्छन् भन्ने हामीलाई थाहा छैन।’
तर उनी थप अनुसन्धानका लागि प्रतिबद्ध छन्। कमिलाहरूले ज्यादै कम लागतमा पहिचान क्यान्सर पत्ता लगाउन सक्छन् र तिनलाई लामो समयको तालिम चाहिँदैन भन्ने उनको मान्यता छ। ‘एउटा फाइदाको कुरा के हो भने कमिलाहरू समूहमा बस्छन् र उनीहरूले एकअर्कालाई जानकारी उपलब्ध गराउँछन्।;
एउटा गोलोका १० प्रतिशत कमिलालाई क्यान्सर पहिचान गर्न तालिम दिन सकिए उनीहरूले त्यो ज्ञान अरू कमिलामा पनि फैलाउने उनको विश्वास छ। ‘सम्भवतः त्यो ज्ञान फैलिनेछ र हामीले कमिलाको सम्पूर्ण गोलोलाई नै तालिम दिइरहनुपर्दैन।’ यो सिद्धान्त मौरीको हकमा प्रमाणित भइसकेको र कमिलाको हकमा थप परीक्षण गरिनुपर्ने पिकरेले बताए।
अरू कुन जीवले क्यान्सर पहिचान गर्न सहयोग गर्न सक्छन्
दश वर्षदेखि मिशिगन स्टेट यूनिभर्सिटीका वैज्ञानिक देवजित साहले सलह र क्यान्सर लागेका कोष पत्ता लगाउने तिनको क्षमताबारे अध्ययन गरिरहेका छन्। उनको समूहले क्यान्सर लागेका कोष र स्वस्थ कोषबीचको भिन्नता सलहले गन्धका माध्यमबाट पत्ता लगाउन सक्ने जनाएको छ। तर उनीहरूले सलहलाई तालिम दिने प्रयास गरेका छैनन्। बरु तिनको मस्तिष्कबारे बुझ्न खोजिरहेका छन्।
डा. साहले भने, ‘हामी सधैँ मस्तिष्कमा जान सक्छौँ र अहिलेको न्यूरोसाइन्सको ज्ञानलाई प्रयोग गरेर त्यसबाट स्नायुसङ्केतको ढाँचा बनाउन गर्न खोजिरहेका छौँ।’ सलहको मस्तिष्कको अध्ययनबाट प्राप्त ज्ञानबाट कीराको संवदेनात्मक स्नायुकोष प्रयोग गरेर बिरामीको सासबाटै क्यान्सर पत्ता लगाउन सकिने विधि र उपकरण बनाउन सकिने उनीहरूले अपेक्षा गरेका छन्।तर यो काममा कीराहरू मात्रै उपयोगी हुन्छन् भन्ने होइन।
वेलायतमा एउटा परोपकारी संस्था मेडिकल डिटेक्शन डग्सले एउटा विद्युतीय ’नाक’ विकास गरिरहेको छ जसले प्रोस्टेट क्यान्सर पत्ता लगाउन सक्छ। ‘हामीले सुरुमा कुकुरहरूले मूत्रथैलीको क्यान्सर पत्ता लगाउन सक्छन् कि भनेर अनुसन्धान थाल्यौँ। त्यस क्रममा क्यान्सरपीडित व्यक्तिको पिसाब लिएर कुकुरहरू कतिको प्रभावकारी हुनसक्छन् भनेर हेरिएको थियो,’ अनुसन्धान र व्यावसायिक विकाससम्बन्धी प्रमुख सोफी अजिज भन्छिन्।
उक्त परोपकारी संस्थाले सन् २००४ मा विभिन्न प्रजातिका छवटा कुकुरहरूलाई तालिम दिएको थियो। तर स्वास्थ्य परीक्षण गर्दा संयोगले थाहा हुने भन्दा तीनगुना बढी वास्तविक क्यान्सर पहिचान हुने त्यस बेला पत्ता लागेको थियो। नयाँ अध्ययनहरूले कुकुरहरूले झन्डै ९० प्रतिशत सही निष्कर्षका साथ मूत्रथैलीको क्यान्सर पत्ता लगाउने पुष्टि गरेका छन्।
अर्को अध्ययनले कुकुरहरूले रगतको नमुना सुँघेर डिम्बाशयको क्यान्सर पत्ता लगाउने पनि देखाएको छ। तालिमप्राप्त कुकुरहरूले ९९ प्रतिशत बिरामी पत्ता लगाएका थिए। त्यसपछि विद्युतीय सुँघ्ने प्रणालीको अनुसन्धानको कुरा आयो। तर गन्धमा हुने सूक्ष्म अन्तरका कारण त्यो चुनौतीपूर्ण देखिँदै आएको छ।
‘विशेषगरी जब रोगहरूको कुरा आउँछ, मान्छेको शरीरमा हुने सूक्ष्मजीवहरू र रोगसँग सङ्घर्ष गर्ने मान्छेको प्रतिरोध प्रणालीका कारण प्रत्येक मान्छेमा हुने गन्ध फरक हुनसक्छ,’ अजिज भन्छिन्। तर उनले कीटपतङ्गको सहयोग लिएर भइरहेका नयाँ अध्ययनहरूले क्यान्सर पहिचानका विषयमा जारी अरू अध्ययनलाई सहयोग गर्न सक्ने विश्वास व्यक्त गरिन्।
‘हामी जतिजति प्राणीहरूका बारेमा छलफल गर्छौँ त्यति नै राम्रो हो। जति धेरै अनुसन्धान हामी गर्न सक्छौँ वा कमिलाले कसरी क्यान्सर पत्ता लगाउन सक्छन् भनेर अध्ययन गरिरहेका वैज्ञानिकहरूले भन्न सक्छन् त्यति नै राम्रो हो। यो सबैले एउटा बृहत् परिस्थिति निर्माणमा सघाउँछ,’ अजिजले भनिन्।
पेट्रा जिभिक
बीबीसी विश्व सेवा