सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने स्थानीयवासीका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म २, वडा ३ मा १, वडा ५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिए ।
सामुदायिक स्वास्थ्य एकाइमा प्राथमिक उपचारका सबै सेवा उपलब्ध हुनेछ । ओपिडी, बालस्वास्थ्य सेवालगायतका सेवा र सुविधा यस्ता स्वास्थ्य एकाइमा उपलब्ध हुनेछ । सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सुविधा भने उपलब्ध नहुने हायुले बताए । प्रत्येक सामुदायिक स्वास्थ्य एकाइमा अहेव र अनमीको दरबन्दीसहित राज्यबाट उपलब्ध हुने सबै प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध हुनेछ ।