काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२ /२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिएजिए म्याच प्लेको उपाधि दिनेश प्रजापतिले जितेका छन् । रोयल नेपाल गल्फ कल्बमा भएको ३६ होलको फाइनलमा रमेश अधिकारीलाई ७ / ६ ले पराजीत गर्दै दिनेशले उपाधि जित्न सफल भएका हुन् ।
उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गर्दा दोस्रो भएका रमेशले ४२ हजारमा चित्त बुझाए । वरीयताको सातौँ स्थानमा रहेका दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाएका थिए ।
१८ होलको समाप्तिमा दिनेशले आठ होलको फराकिलो अग्रता बनाए । त्यसपछि रमेशले १९ औं, २० औं, २१ औं र २२ औं होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए ।
दिनेशले २३ औं होल जित्दा रमेशले २४ औं र २५ औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाई तीन होलमा झारे । तर २६ औं र २७ औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बना ए। यसपछि दिनेशले २९ औं र ३० औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाएका हुन् ।