राज्य संयन्त्रलाई थिलथिलो बनाएर छोडिएको छ : गृहमन्त्री लामिछाने



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सांसदहरुलाई राज्यका संयन्त्रहरुलाई हिजो चलाएझै चलाउन छोड्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै लामिछानेले राज्यका संयन्त्रहरुलाई ट्रयाकभन्दा बाहिर राखिएको र तिनलाई ट्रयाकमा ल्याउने काम भइरहेको बताएका छन् । एमाले सांसद रघुवीर महासेठले सांसद लक्ष्मी कोइरीलाई राज्यले अपराधी करार गरेको भन्दै प्रश्न उठाएपछि जवाफ दिँदै लामिछानेले राज्यका संयन्त्रहरुलाई हिजोझैं चलाउन छोड्न भनेका हुन् ।


‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ,’ उनले भने, ‘हामी नयाँले जिम्मेवारी सम्हाले पनि हामीमाथि त्यही कोणबाट प्रश्नहरू आउने रहेछन् । तर म कामको माध्यमबाट, परिणामको माध्यमबाट ती प्रश्नहरूको जवाफ दिन चाहान्छु ।’

उनले राज्य संरचना र प्रणाली सुधारका लागि अन्य दलहरूको समेत सहयोग आवश्यक पर्ने बताए ।

‘नेपाली जनताले ठूलो आशा र भरोसा राखेर तपाईं/हामीलाई जिताएर पठाएका छन् । अहिलेको राज्य संरचनामा निकै सुधार चाहिएको छ,’ प्रतिनिधिसभाका सदस्यहरूलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले भने, ‘प्रणालीगत सुधारका लागि हामीले प्रयास गर्नुपर्ने देखिएको छ । प्रणाली सुधार र मापदण्डहरू निर्माणमा गृहमन्त्रालय केन्द्रित छ । अहिले सबै विषयहरूलाई लिएर म यही भन्छु कि राज्यका संयन्त्रहरूलाई हिजो चलाएजस्तो गरी अब चलाउन छोडिदिनुहोस्, आधा काम त्यतिकै सहज हुनेछ ।’