एमाले अनुकूलको राष्ट्रपति चुनिए संविधानका लागि खतराः सांसद पौडेल



नवलपरासी । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालको संविधान जोगाउनका निम्ति कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका छन् ।

कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आइतबार आयोजना गरेको अन्तरक्रियामा पौडेलले संविधान जोगाउनका निम्ति नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका हुन् ।


उनले भने, ‘नेपालको संविधान जोगाउनका निम्ति नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्छ । संविधानको रक्षाका निम्ति राष्ट्रपतिका लागि हुने निर्वाचनका सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको पक्षमा मत दिन अनुरोध गर्छौं।’

विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गरेको भन्दै पौडेलले फेरि पनि नेकपा एमाले अनुकूलको राष्ट्रपति चुनिए संविधानका लागि खतरा हुने जिकिर गरे ।

कांग्रेसको समन्वयकारी भूमिकाले विगतमा देशका गम्भीर समस्याहरु समाधान गरेको भन्दै पौडेलले कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुगे संसदलाई समन्वय गर्न सक्नेमा जोड दिए ।

पौडेलले पार्टीलाई लोकप्रिय बनाउन र आम जनताको मनमा बस्न कसरी सकिन्छ भन्ने बारे सबै नेताले सोच्न जरुरी रहेकोमा पनि जोड दिए।