प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ति भयो : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर पक्षका नेताहरूको बत्तिसपुतलीमा जारी बैठकलाई सम्बोधन गर्दै कोइरालाले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।


कोइरालाको भनाई उदृत गर्दै एक नेताले भने,‘विश्वासको मत दिएर हामीले गल्ती गर्यौं । विश्वासको मत दिनु हुँदैनथ्यो । तर बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्यो ।’

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए ।

सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र नैतिक धरातल पनि नरहने बैठकका नेताहरुले बताएका थिए । बैठकमा केन्द्रीय समिति बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।