राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा रिजाल



२३ असाेज । रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताए ।


मन्त्री डा रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिए । नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उनले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे ।

मन्त्री डा रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको र यसले आफ्ना काममा गति लिने बताए ।