तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतसँगको भेटका क्रममा प्रधानमन्त्रीले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।


“मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ।” उनले भने, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।”

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए ।

“यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ” उनले भने, “मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो।”

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे ।

भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको भन्दै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे छलफल गरेका थिए ।