संसदमा वसन्त ऋतु शुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो : सोबिता गौतम



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गरेकी छन् । उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहेकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा सम्बोधन गर्दै गौतमले जसरी जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाउँछन् त्यसैगरी राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताएकी छन् ।

‘छोटा दिनहरु बिस्तारै लामा हुँदैछन्, जाडो र तुषारोले बोट बिरुवा उजाड छन्, तर छिट्टै वसन्त ऋतु शुरु भएर पालुवा पलाउँदैछ । यो रोस्टमबाट हेर्दा हाम्रो संसदमा भने वसन्त ऋतु शुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो’, गौतमले भनिन् ।


उपसभामुखको लागि सीमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताइन् । आम मानिसले मुलधारको राजनीतिमा आफूलाई सहभागी गराउन सकुन् भनेर आफूले पहल गरिरहने सोबिता गौतमको भनाई छ । उनले राजनीति गर्न ठूलो शरीर, ठूलो काँध भएका व्यक्ति हुनुपर्छ भन्ने भाष्य गलत सावित भएको भन्दै आफ्नो उपस्थिति ऐतिहासिक भएको बताइन् ।

‘मेरो यो उपस्थिति सदनका लागि ऐतिहासिक क्षण हुन सक्छ । सम्भवत यसअघि म भन्दा कान्छो व्यक्तिले सदनलाई सम्बोधन गर्ने मौका अवश्य पाएको थिएन,’ उनले भनिन् ।