देउवा सरकारले छिमेक सम्बन्ध तनावपूर्ण बनायो, हामी सच्याउँछौं : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले देशको कुटनीतिक सम्बन्ध भताभुङ्ग बनाएको बताएका छन् ।

नेकपा एमालेको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका ह्न । सरकारको उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग बनाएको बताउँदै नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताए ।


उनले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उल्लेख गर्दै भने, ‘हामीले छिमेकसँग कार्ड खेल्ने होइन, बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्ने होइन । सबैसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ ।’

छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने ओलीको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘हामी हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं । कसैको पनि मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं । कुनै हिसाबले हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानको आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्नेछौं ।’

उनले विगतको सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताउँदै देशभित्र तनाव बढाउने र बाह्य शक्तिसँग साँठगाँठ एवं दलाली गरेर राष्ट्रिय हित कमजोर बनाउने काम गरेको आरोप लगाए ।

‘कसैका विरुद्धमा काम गर्ने र कसैका निम्ति काम गर्ने गैरजिम्मेवार प्रवृत्ति देखियो । अब नयाँ सरकार बनेपछि यसलाई सच्याएर जानुपर्छ’ उनको भनाइ थियो ।