दैलेख । आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए । उपचारका लागि काठमाडौँ लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गए राति मृत्यु भएको हो ।
दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो । एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिए ।
चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी उनी जलेका थिए । नारायणको यो मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।
एक सय ४३ जनसङ्या भएका राउटेहरू कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन । उनीहरू हाल दैलेखको नारायण नगरपालिका–८ सालखर्कमा बसोबास गरिरहेका सो समुदायमा परियोजनामार्फत खटिएका अहेब लोकेन्द्र शाहीले बताए ।