काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हालेका हुन् ।
पदभार सम्हाल्दै उनले दुई महत्वपूर्ण निर्णय गरेका छन् । सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उनले पहिलो निर्णय गरेका छन् । अर्को उनले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेका हुन् ।
दुवै निर्णय स्वीकृत गर्दै उनले गरिब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने बताए । उनले गाउँ र सहरमा एकै किसिमका सेवा उपलब्ध गराउने मापदण्ड सहयोगी बन्ने बताउनुभयो । मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने स्पष्ट गरे ।