काठमाडौँ । प्रतिनिधिसभाको अंक गणितलाई आधार बनाउँदै सत्तारूढ साझेदार दलहरूले मन्त्रालय बाँडफाँट टुंग्याएका छन् । बाँडफाँटबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल र सरकारलाई समर्थन गरेका अन्य दलहरूलाई पनि समेट्ने कोशिस कायम राख्न उनीहरूले टुंग्याएका मन्त्रालयबारे औपचारिक जानकारी भने दिएका छैनन् ।
सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।
‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौै । भोलि एक बजे अघि टुंग्याउँछौ । केही चेन्ज भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताए । त्यस्तै उनले भोलि १ बजे मन्त्रीहरुको सपथ राखिएको समेत जानकारी दिए ।
सत्ता साझेदार दलहरूले सरकारलाई समर्थन गर्ने दलहरूको सिट संख्याको अनुपातमा बाँडफाँट टुंग्याएका छन् । तर, सरकारलाई समर्थन गर्दै आएको जसपाले बाँडफाँटप्रति असहमति जनाउँदै बैठकको बीचबाटै बाहिरिएको छ ।
सहभागी एक नेताका अनुसार साझेदारमध्येको ठूलो दल एमालेले ८ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरे पनि तीन मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ ।
मन्त्रालय बाँडफाँट टुंगो लगाए पनि दलहरूले संख्या, मन्त्रालय र मन्त्रीहरूको नाम सार्बजनिक गरेका छैनन् । मंगलवार बिहान पार्टीमा आन्तरिक छलफल गर्दा मन्त्रालय र नामहरू हेरफेर हुनसक्ने कारण जनाउँदै एकै पटक सार्बजनिक गरिने नेताहरूले बताएका छन् ।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित सरकारको नेतृत्व गरेका छन् । एमालेबाटै मन्त्रीमा नियुक्त दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहको मन्त्रालयको अझै टुंगो लागिसकेको छैन । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै, रास्वपाबाट अध्यक्ष लामिछानेले गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व लिएका छन् । जनमत पार्टीबाट अब्दुल खान मन्त्री छन् ।