सुदूरपश्चिम । जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ नेपालमा वर्ष २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रुपमा मनाउन लागिएको छ । ह्रासोन्मुख अवस्थामा रहेको रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउने लक्ष्यसहित सचेतनामूलक, प्रवद्र्धनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमका साथ यो दिवस मनाउन लागिएको हो ।
नेपाल जैविक विविधतामा धनी छ । वासस्थान विनास, आधुनिक खेती प्रणालीमा हुने गरेका कतिपय नकारात्मक अभ्यास र मानव सिर्जित अन्य कारणले गर्दा कृषि जैविक विविधतालगायत समग्र जैविक विविधतामा ह्रास हुँदै गइरहेको कृषि प्राविधिकको भनाइ छ ।
रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने देखिन्छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले कृषि जैविक विविधतामा ह्रास हुँदै आएको छ । कृषि जैविक विविधता खाद्य तथा पोषण सुधार, गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधारका रुपमा रहेको छ ।
नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख गरिएको छ । यसको संरक्षणमा पनि तीनै तहका सरकारको भूमिका उल्लेख गरिएको छ । नेपालमा रैथाने कृषि जैविक विविधता स्रोतमध्ये झण्डै ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ ।
कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकता बारे प्रचारप्रसार गर्न र सरोकारवालाई रैथाने कृषि जैविक विविधताको संरक्षण तथा दिगो उपयोगमा सक्रिय रुपमा लाग्न उत्प्रेरित गर्ने गराउने उद्देश्यले सरकारले बजेट वक्तव्यमार्फत् विसं २०७९ लाई यो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
यस्तै प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने निर्णय गत भदौमा मन्त्रिपरिषद्ले गरेको जनाइएको छ । यो दिवसअन्तर्गत प्रचारप्रसार, गोष्ठी अन्तक्रिया, प्रकाशन अभिलेखिकरण जस्ता सचेतनामूलक कार्यक्रमका साथै कृषि जैविक विविधता प्रवद्र्धनात्मक गतिविधि सञ्चालन हुन लागेको छ ।
यसअन्तर्गत नेपाल कृषि अनुसन्धान केन्द्र, कृषि विभागअन्तर्गतमा फार्म केन्द्र र कृषि विषयका अध्ययन संस्थानमा बाली, घाँसे बाली, पशुपक्षी, कीरा, सुक्ष्म जीवाणु तथा जलीय कृषि अनुवांशिक स्रोतको संरक्षण र उपयोगमा ल्याउन सहयोग पुग्ने जस्ता गतिविधि गर्न लागिएको छ । जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत गर्ने, रैथाने बाली, जातका बीउ तथा रैथाने एवं परम्परागत प्रविधि/सामग्रीको सङ्कलन र प्रदर्शन जस्ता गतिविधि गर्न लागिएको छ ।
रैथाने पशुपक्षीका रुपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्रा, लमपुछ«े, कागे, बारुवल तथा भ्याङ्लुङ भेडा, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुङ्गुर लगायतको संरक्षण र प्रवद्र्धनसम्बन्धी गतिविधि पनि गर्न लागिएको छ । लोपोन्मुख घाँसे बाली, मत्स्य प्रजातीको संरक्षका साथै प्राकृतिक जलायशयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन जस्ता कार्य पनि गर्न लागिएको छ ।
खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधिकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रैथाने बालीको संरक्षण र प्रवद्र्धनसम्बन्धी कार्यक्रम गर्दै आएको छ । कृषि निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुरको पहिचानका रुपमा रहेको रैथाने जातको थारु आलु, जोरायली बास्मति धान, हङ्सराज बास्मती धान, अनदी धानलगायतका बालीको संरक्षण र प्रवद्र्धनसम्बन्धी कार्यहुँदै आएको छ ।
“हाल उपभोगमा रहेको तरकारीका जातमा झण्डै ९० प्रतिशत उन्नत(वर्णशङ्कर) छन्, दश प्रतिशत मात्र रैथाने छन्,” निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भन्नुभयो, “वर्षौ अघिसम्म प्रदेशका विभिन्न जिल्लामा खेती गरिने गुर्रा, राइमुनुवा, सौँठेरी, जस्ता धानका रैथानेबाली लोप भइसकेका छन् ।” कृषि ज्ञान केन्द्र कैलालीको पहलमा शनिबार धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुर गाउँमा आयोजित कार्यक्रममा राष्ट्रिय जैविक विविधता वर्ष २०७९ को शुभारम्भ गरिएको छ ।
सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव नारायण शर्मा दुवाडीले जैविक विविधता मानवको जीवनसँग जोडिएकोले यसको संरक्षण र प्रवद्र्धनमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले आगामी दिनमा ल्याउने कृषिसम्बन्धी नीति कार्यक्रममा कृषि जैविक विविधतालाई पनि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कृषि मन्त्रालयका सचिव डा मदनसिंह धामी, कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशी, कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्मा, भादा घरवास कार्यक्रमका अध्यक्ष लक्ष्मीनारायण चौधरी, रैथाने बालीको बीउ संरक्षण सम्वद्र्धनमा कार्यरत लिवर्डका टिम लिडर ईन्द्रेश्वर मण्डल लगायतले कृषि जैविक विविधताको महत्व र अवश्यकता माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रैथाने जातका बीउका साथै रैथाने खानाका परिकारको प्रदर्शनीसमेत गरिएको थियो ।