नाट्टाद्वारा सुरक्षित यात्रा सुनिश्चितता माग, दुर्घटनाको छानविन गर्न आग्रह



काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)ले विमान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले शोक विज्ञप्ति जारी गरी आज बिहान काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइन एन एएनसी एटिआर ७२ विमान पोखरा विमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ठूलो क्षति भएको भन्दै विमान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेका हुन् ।


नाट्टाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएको छ ।

अध्यक्ष थापाले दुःखद घटनामा परी दिवङ्गत हुने चालक दलका सदस्यलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

नाट्टाले आगामी दिनमा थप सतर्कता अपनाउन र यात्रुलाई सुरक्षित यात्राको सुनिश्चितताका लागि मागसमेत गरेको छ ।

आज बिहान १० बजेर ३२ मिनेट जाँदा काठमाडौँबाट पोखराका लागि उडेको सो विमान १० बजेर ५० मिनेट जाँदा सेती खोँचमा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका सदस्यबाहेक ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, दुई कोरियन, एक अर्जेन्टिना, एक अष्ट्रेलियन र एक फ्रान्सेली नागरिक रहेका थिए । हालसम्म ६९ जनाको शव फेला परेको सो एयरलाइन्सले जनाएको छ ।