विमान दुर्घटनामा पत्रकार त्रिभुवन र लोकदोहोरी गायिका नीराको निधन



काठमाडौँ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी पत्रकार त्रिभुव पौडेल र लोक दोहोरी गायिका नीरा छन्त्यालको मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेलको दुर्घटनामा निधन भएको महासंघले पुष्टि गरेको छ ।


महासंघले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेलको निधनले महासंघ स्तब्ध र शोकमग्न भएको जनाएको छ । महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेकाे छ ।

त्यसैगरी, लोकदोहोरी गायिका नीरा छन्त्यालको पनि निधन भएको परिवारले पुष्टि गरेको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजित कार्यक्रमका लागि काठमाडौंबाट पोखरा प्रस्थान गरेका उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरेका हुन् ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गर्दै ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भनेर स्टाटस लेखेका थिए ।