काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भने, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ ।’’प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताए ।
उनले भने, ‘‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’’
हस्तकला व्यवसाय प्रवद्र्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए । उनले भने, ‘‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु।’’
साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवद्र्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।